दफा
उम्मेदवारको अयोग्यता सम्बन्धी निर्णय गर्ने
(१) उम्मेदवारको मनोनयन दर्ता भइसकेको तर निर्वाचन परिणाम घोषणा भई नसकेको अवस्थामा कुनै उम्मेदवार अयोग्य छ वा हुन गएको छ भन्ने विषयमा स्पष्ट प्रमाण सहित सम्बन्धित निर्वाचन अधिकृत मार्फत निर्वाचन आयोग समक्ष उजुरी दिन सकिनेछ ।
(२) उपदफा (१) बमोजिम उजुरी प्राप्त भएमा सम्बन्धित निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवार लाई सात दिनको म्याद दिई त्यस सम्बन्धमा स्पष्टीकरण माग गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम स्पष्टीकरण प्राप्त भएपछि वा म्यादभित्र स्पष्टीकरण प्राप्त नभएमा सोही व्यहोरा उल्लेख गरी सम्बन्धित निर्वाचन अधिकृतले उपदफा (१) बमोजिम परेको उजुरी र तत्सम्बन्धी कागजात यथाशीघ्र आयोगमा पठाउनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम उजुरी र तत्सम्बन्धी कागजात प्राप्त भएपछि आयोगले चाहेमा सम्बन्धित उम्मेदवारसँग बुझ्न वा थप प्रमाण माग गर्न सक्नेछ ।
(५) आयोगले यस दफा बमोजिम प्राप्त उजुरी र संलग्न कागजातउपर आवश्यक जाँचबुझ गरी उपदफा (३) बमोजिम निर्वाचन अधिकृतबाट आफूसमक्ष उजुरी प्राप्त भएको मितिले सात दिनभित्र उम्मेदवारको अयोग्यता सम्बन्धमा निर्णय गरिसक्नु पर्नेछ ।
(६) यस दफा बमोजिम आयोगले उम्मेदवारको अयोग्यता सम्बन्धमा निर्णय गर्दा अपनाउनु पर्ने कार्यविधि आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।
(७) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि आयोगले कुनै उम्मेदवारको अयोग्यताका सम्बन्धमा यस दफा बमोजिम निर्णय गरी नसकेको कारणबाट मात्र त्यस्तो निर्वाचनको काम कारबाहीमा कुनै असर पर्ने छैन ।